राउटेको बैंक खाता

दैलेखः पश्चिम नेपालको पहाडी जिल्लामा बसोबास गर्दै आएका लोपोन्मुख जाती राउटेको बैैंक खाता खोलिने भएको छ । उनीहरूले सरकारबाट पाउँदै आएको सामाजिक सुरक्षा भत्ता सहज तवरले उपलब्ध गराउने भन्दै राउटेको पहिलो पटक बैैंक खाता खोल्न लागिएको हो ।

राउटेलाई सामाजिक सुरक्षा भत्ता बुझ्न सहज होस भन्ने उद्देश्यले पहिलो पटक उनीहरूको बैैंक खाता खोल्न लागिएको गुराँस गाउँपालिका दैलेखका अध्यक्ष टोप बहादुर बिसीले बताए । राउटे गुराँस गाउँपालिका–८ का बासिँदा हुन् ।
बैैंक खाता खोल्नका लागि सङ्कलन भएका विवरणले उनीहरूको पहिचान गर्न सहज हुने अध्यक्ष बिसीको भनाई छ ।

‘राउटे जाति जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएको छ । उनीहरूलाई राज्यको मूल प्रवाहमा जोड्न बैैंक खाता खोल्न लागिएको हो । बैैंक खाता खोले पछि उनीहरू सरेको ठाउँमा भत्ता वितरण गर्न जाँदा लाग्ने राज्यको लगानीमा समेत कम हुन्छ’, अध्यक्ष बिसीले भने ।

बैैंक मार्फत उनीहरूलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराए उनीहरूले गर्ने खर्चमा बचत हुने अपेक्षा गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनेश दाहालले बताए । खाता खोल्नका लागि हालसम्म १ सय ७ जना राउटेको विवरण सङ्कलन भइसकेको दाहालको भनाई छ ।

‘राउटेको पहिलो पटक बैैंक खाता खोल्ने प्रक्रिया सुरु गरेका छौँ । उनीहरू जहाँ गए पनि सङ्घीय सरकारले राउटेको सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकामा पठाउने गरेको छ । जम्मा १ सय ३७ जना राउटे मध्ये बैैंक खाता खोल्नका लागि १ सय ७ जनाको विवरण सङ्कलन भइसकेको छ । अन्यको विवरण सङ्कलनमा लागेका छौँ’, निमित्त प्रमुख प्रशासकीय अधिकृत दाहालले भने ।

जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे हाल यहाँको चामुण्डाविन्द्रासैनी नगरपालिका–७ पादुकामा बस्दै आएका छन् । अहिले उनीहरूको सङ्ख्या १ सय ३७ रहेको छ । पछिल्ला वर्षहरूमा राउटेको सङ्ख्या घट्दो क्रममा छ । बसोबास गर्दै आएको ठाउँमा कुनै सदस्यको मृत्यु भए तत्कालै उक्त ठाउँ छाड्नुपर्ने राउटेको चलन रहेको छ ।

आफैले निर्माण गरेका काठका सामग्री बिक्री गरी जीवन गुजार्दै आएका राउटे पछिल्ला वर्षहरूमा मदिरा लगायतको कुलतमा फस्दै गएका छन् । उनीहरूलाई राज्यको मूल प्रवाहमा जोड्न सरकारी निकासँगै विभिन्न सामाजिक सङ्घ संस्थाहरूले काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार